
सेफ्स एसोसिएसन अफ नेपालकाे ३१औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएकाे छ । अध्यक्ष रेशमकुमार लामा तामाङको अध्यक्षतामा एसोसिएसनको कार्यालय रानीवारीमा आयोजित वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे हाे ।
होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहकाे प्रमुख आतिथ्यमा सम्पन्न सेफ्स एसोसिएसन अफ नेपालको ३१औँ वार्षिकोत्सव कार्यक्रममा पाककला, पर्यटन तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथीबाट पानसमा दीप प्रज्वलन गरी औपचारिक रुपमा उद्घाटन गरिएकाे कार्यक्रमकाे उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी शाहले नेपाली पाककला र सेफ्सहरूको भूमिका पर्यटन प्रवद्र्धनसँग प्रत्यक्ष रूपमा जोडिएको बताउँदै सेफ्स एसोसिएसन अफ नेपालले नेपाली खानाको पहिचानलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएका थिए ।
वार्षिकोत्सवकै अवसरमा एसोसिएसनद्वारा प्रकाशित ‘नेपाली सेफ्स सिग्नेचर डिशेस’ नामक पुस्तकको समेत लोकार्पण गरिएको थियो । उक्त पुस्तकमा नेपाली मौलिक स्वाद, परम्परागत र आधुनिक पाककलाको संयोजन तथा नेपाली सेफ्सको सिर्जनात्मक क्षमता समेटिएको छ । उक्त पुस्तकले नेपाली खानाको दस्तावेजीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा रेष्टुरेन्ट तथा बार एशोसिएसन नेपालका अध्यक्ष सङ्घर्ष विष्ट र गोल्डेन गेट कलेजका अध्यक्ष रमेशकुमार सिलवालकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रममा एसोसिएसनका पूर्व अध्यक्षहरू, प्रतिष्ठित उद्योगी, व्यवसायी, पाककला क्षेत्रका विज्ञ तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
विशिष्ट अतिथि तथा, एसोसिएसनका पूर्व अध्यक्षहरू र अन्य अतिथिहरूले सेफ्स एसोसिएसन अफ नेपाल पाककला क्षेत्रमा एक सशक्त र संगठित आवाजका रूपमा स्थापित भएको उल्लेख गर्दै नेपाली खानालाई विश्व समुदायमा चिनाउन एसोसिएसनले खेलेको भूमिकाको प्रशंसा सहित शुभकामना मन्तव्य राखेका थिए । उनिहरूले नेपाली मौलिक खानाको संरक्षण, प्रवद्र्धन र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तारका लागि यस्ता पहलहरू निरन्तर हुनुपर्नेमा जोड दिएका छन् ।
३१औँ वार्षिकोत्सव कार्यक्रममा नेपाली मौलिक खानाको विकास, पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नमा उल्लेखनीय योगदान पुर्याएका उत्कृष्ट सेफ्सहरुलाइ सम्मान गरिएको थियाे । उक्त सम्मानले सेफ्सहरूको पेशागत योगदानलाई थप प्रोत्साहन गर्ने विश्वास रहेको अध्यक्ष तामाङले बताएका छन् ।
प्रथम उपाध्यक्ष ठाकुर प्रसाद पौडेलकाे स्वागत मन्तव्यसँगै महासचिव पदमबहादुर आले मगरले एसोसिएसनको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुनिल तामाङले वार्षिक आय–व्यय विवरण सार्वजनिक गरेका थिए ।
सेफ्स एसोसिएसन अफ नेपालले आगामी दिनमा नेपाली पाककला, सेफ्सको क्षमता विकास तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न गरिएकाे कार्यक्रमको सञ्चालन सेफ विक्रम गिरीले गरेका थिए ।


