
नेपालले आईसीसी टी-२० विश्वकपको पहिलो आधिकारिक वार्म अप खेल यूएईसँग खेल्दैछ । खेल भारतको चेन्नईस्थित प्रसिद्ध एमए चिदाबरम स्टेडियम (चेपौक) मा साँझ सवा ५ बजेबाट सुरु हुनेछ ।
आजकाे खेलमा आईसीसी टी-२० विश्वकपको अन्तिम तयारीमा जुटेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्न लागेकाे हाे । आजकाे खेल आफ्नो टोलीको शक्ति र कमजोरी आकलन गर्न महत्वपूर्ण मानिएको छ ।
नेपाली टाेलिले यसअघि भारत र श्रीलंकामा विभिन्न अभ्यास खेलहरू खेलिसकेको छ भने मुम्बईमा भएको अभ्यास खेलमा नेपालले ‘एमसीए प्रेसिडेन्ट ११’ लाई दुवै खेलमा पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो । तर, श्रीलंका ‘ए’ सँगको तीन खेलमा टोलीले एक खेल मात्र आफ्नो पक्षमा पारेकाे थियाे । आजको खेलपछि नेपालले आगामी बिहीबार क्यानडासँग दोस्रो वार्म अप खेल खेल्ने कार्यक्रम रहेको छ ।
आगामी फेब्रुअरी ७ तारिकदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी-२० विश्वकपमा नेपालले फेब्रुअरी ८ तारिख साविक विजेता इंग्ल्याण्डसँग खेल्नेछ । त्यसपछि नेपालले फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १४ मा वेस्ट इन्डिज र फेब्रुअरी १६ मा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने खेल तालिका रहेकाे छ ।


