
चितवनमा दुई दाजुभाइले आमाको नामबाट नागरिकता पाएका छन् । चितवनकाे खैरहनी नगरपालिका–५, का निश्चल चौधरी र शंकर चौधरीले आमाको नामबाट नागरिकता पाएका हुन् ।
दुई दाजुभाइले आमा निशा महतो (चौधरी) को नामबाट नागरिकता पाएका हुन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उनीहरूलाई नागरिकताकाे प्रमाणपत्र प्रदान गर्दै नागरिकता ऐन र नियमावलीमा पछिल्लो संशोधनपछि जिल्लामा पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरेकाे बताए ।
उनले भने “महतो आँखा नदेख्ने भएकाले कर्मचारीको सक्रियतामा दाजुभाइलाई नागरिकता दिइएको हो ।” बाबुको सम्पर्क नभएकाले आमाले रेखदेख गर्दै आएका छोराछोरीलाई पहिलो पटक नागरिकता दिन पाउँदा आफू र आफ्ना कर्मचारीको टोली हर्षित भएको पनि अधिकारी अर्यालले बताएका छन् ।
नागरिकता दिँदै अधिकारी अर्यालले आमाको ख्याल गर्न र आफ्नो लक्ष्यबाट पछि नहट्न आग्रह गरेका छन् । यता नागरिकता पाएका २४ र २० वर्षका दुई दाजुभाइले पनि नेपाली नागरिक भएको भन्दै खुसी व्यक्त गरेका छन् ।


