Advertisement Banner
Advertisement Banner

२० सोमबार, माघ २०८२9th January 2026, 2:05:00 am

घुससहित तीन जना कर्मचारी रंगेहात पक्राउ

२० सोमबार , माघ २०८२७ घण्टा अगाडि

घुससहित तीन जना कर्मचारी रंगेहात पक्राउ

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन जना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अन्तर्गत वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत उनिहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रंगेहात पक्राउ गरेको हाे ।

अख्तियारको टोलीले सेवाग्राहीसँग अवैध रकम लेनदेन भइरहेको भन्ने विशेष सूचनाका आधारमा गोश्वारा हुलाक कार्यालय डिल्लीबजार परिसरबाट उनीहरूलाई हिजाे नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा भन्सार अधिकृत इन्द्र न्यौपाने, नायब सुब्बा छविप्रसाद रिजाल र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी रहेकाे बताइएकाे छ ।

पक्राउ परेका कर्मचारीको साथबाट घुसबापत लिएको रकम तथा स्रोत नखुलेको ठूलो परिमाणको नगद समेत बरामद भएको अख्तियारले जनाएकाे छ । जसअनुसार कार्यालय सहयोगी पुडासैनीको साथबाट घुसको १० हजार र स्रोत नखुलेको १ लाख ३६ हजार ४ सय २० गरी कुल १ लाख ४६ हजार ४ सय २० रुपैयाँ बरामद गरिएको छ ।

आयोगका अनुसार हुलाक भन्सार पार्सल (निकासी) शाखाका नासु रिजालको साथबाट घुसको २० हजार र अन्य स्रोत नखुलेको रकमसहित कुल २ लाख ६८ हजार २ सय ८८ रुपैयाँ फेला परेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।