Advertisement Banner
Advertisement Banner

१५ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

डडेलधुरामा २९.६ मिलिमिटर वर्षासँगै अन्य स्थानमा वर्षा र हिमपात

१५ बुधबार , माघ २०८२१० घण्टा अगाडि

डडेलधुरामा २९.६ मिलिमिटर वर्षासँगै अन्य स्थानमा वर्षा र हिमपात

हिजाे साँझदेखि सुदूरपश्चिमबाट भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीका कारण सुदूरपश्चिमदेखि पूर्वसम्मका विभिन्न स्थानमा वर्षा र हिमपात भएको छ । नेपालमा सक्रिय भएको माैसमी प्रणालीका कारण पहाडी र तराईका भूभागमा वर्षा भएकाे छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

उक्त माैसमी प्रणालीकाे असर सुदूरपश्चिम प्रदेशमा तीव्र देखिएकाे छ भने पछिल्लो १२ घण्टामा डडेलधुरामा सबैभन्दा धेरै २९.६ मिलिमिट पानी परेकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । हिजो साँझ सुदूरपश्चिमबाट सुरु भएको वर्षा अहिले क्रमशः पूर्वतर्फ सरेर कर्णाली र लुम्बिनी प्रदेशमा पुगेको छ ।

त्यस्तै पानी पार्ने बादल छिटो गतिमा पूर्वतिर सर्दै गरेकाले यसको प्रभाव कोशी प्रदेशसम्मै पुग्ने देखिएको वरिष्ठ माैसमविद् बरुण पौडेलले बताएका छन् । अहिले बादल पूर्वतर्फ सर्ने क्रम जारी रहेकाले सुदूरपश्चिममा वर्षा कम हुँदै गएपनि मध्य र पूर्वी भेगमा यसको प्रभाव देखिन थालेको छ ।

काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा आज बिहानैदेखि बादल लागेको र मध्याह्नपछि छिटपुटदेखि हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ । अहिले मनाङ, मुस्ताङ र पूर्वी पहाडी जिल्लाका हिमाली भेगमा मध्यमदेखि भारी हिमपात भइरहेको छ ।

आज मधेश प्रदेश र पूर्वी तराईका झापा लगायतका केही जिल्लाबाहेक मुलुकका अधिकांश भूभागमा हल्का वर्षा हुने र जसका कारण चिसाे बढ्ने विभागले जनाएकाे छ । विभागका अनुसार आज साँझदेखि वायुमण्डलको बादल हट्ने र मौसममा क्रमिक रूपमा सुधार आउने बताइएकाे छ ।