
गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। एकतर्फी प्रेमको संवेदनशील अनुभूति र आत्मीय भाव समेटिएको यस गीतले छोटो समयमै श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।
ओमप्रकाश राईको संगीत र पेमा शेर्पा राईको स्वरले गीतलाई मर्मस्पर्शी बनाएको छ। गीतमा सन्तोष प्रगाढ राईको एरेञ्ज, वीरेन्द्र भाट ‘विपिन’ को इडिटिङ र गोविन्द सोनीको मिक्सिङ–मास्टरिङ रहेको छ।
यसअघि पनि गीतकार राईका केही गीत रेकर्ड भइसकेका छन्। २०७५ मा शिला खनालले ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’, २०७९ मा मनमा बी राईले र २०८१ मा नवराज पराजुलीले ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा राई हाल काठमाडौंमा रहेर साहित्य र पत्रकारितामा सक्रिय छन्। उनले यसअघि दस वर्षे शिक्षण अनुभव बटुलेका छन्। उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बालकथासंग्रह प्रकाशित छन्।
राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव र लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन्। ‘लघुकथा सौन्दर्य’ का संस्थापक उनी नेपाली लघुकथाको विकासमा क्रियाशील छन्। उनका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) दुई सामूहिक लघुकथासंग्रह प्रकाशित छन्।
राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ प्रकाशित भइसकेको छ। उनले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ पत्रिकामा समेत सम्पादन अनुभव बटुलिसकेका छन्।
नेपाली भाषा र साहित्यमा योगदानको कदरस्वरूप राईले इडन ब्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव सम्मान (२०८०) र गोधूलि साहित्य सम्मान (२०८२) प्राप्त गरेका छन्।


