
पूर्वराजा ज्ञानेन्द्र शाहले हिजो साँझ जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरमा पूजापाठ गरेका छन् । उनले मन्दिरमा विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना समेत गरेका थिए ।
त्यसैगरी पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी भएका थिए भने उनको आगमनका क्रममा मन्दिर परिसरमा सर्वसाधारण तथा भक्तजनको बाक्लो उपस्थिति रहेको थियो । जानकी मन्दिरको पूजापाठ पछी राम मन्दिरको समेत दर्शन गरेका पूर्वराजा शाह गङ्गासागरमा आयोजना गरिएको गङ्गा आरतीमासमेत सहभागी भएका थिए ।
पत्नी कोमल, बुहारी हिमानी, नातिनीहरू पूर्णीका र कृतिका शाहसहित हिजो दिउँसो जनकपुर पुगेका पूर्व राजा शाहले साँझ जानकी मन्दिरमा पूजापाठ गरेका हुन् । पूर्व राजालाई मन्दिरका महन्थ रामदासलगायतले स्वागत गरेका थिए भने स्वागतका क्रममा नेपाल राष्टवादी नागरिक समाज, राजस्था पुनर्स्थापना पक्षधरहरूले 'हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ', 'सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एक हौँ', 'राजा आउ देश बचाऊ' जस्ता नारा लगाएका थिए ।


