
चालु आर्थिक वर्षको ६ महिनामा ९० अर्ब भन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँदै चालु आर्थिक वर्षको ६ महिनामा ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।
गत आर्थिक वर्षको ६ महिनाको तुलनामा यसवर्ष २ अर्ब ७५ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको बताइएको छ । त्यस्तै चालु आवको छ महिनामा पेट्रोलियम पदार्थको आयातबाट ३७ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ ।
गत आवको ६ महिनामा ८७ अर्ब ३१ करोड मूल्यको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड राजस्व सङ्कलन भएको थियो । गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलिम पदार्थको आयात र सोबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ ।
चालु आवको ६ महिनामा ४५ अर्ब ३८ करोड मूल्यको डिजेल आयात हुँदा १९ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयका अनुसार सोही अवधिमा २० अर्ब ९८ करोडको पेट्रोल आयात हुँदा १३ अर्ब ८२ करोड र १४ अर्ब ७९ करोडको एलपीजी ग्यास आयात हुँदा २ अर्ब ७७ करोड राजस्व सङ्कलन भएको बताइएको छ ।


