नेपालको माओ बन्छु भन्ने सपना साकार पार्न टाउकामा कात्रो बाँधेर जनयुद्धका कमाण्डर बनेका प्रचण्ड पार नलागेपछि कांग्रेस, एमालेसँग मिसिन आए, १९ दिने जनआन्दोलनका कमाण्डर बन्नपुगे। शक्ति बन्दुकको नालबाट निस्कन्छ भन्ने उनको भ्रम निवारण भयो र त्यही आन्दोलनबाट उनलाई सत्तासुख प्राप्त भयो। जंगल युद्धबाट प्रजातान्त्रिक षडयन्त्रका माहिर खेलाडी बन्न सफल प्रचण्ड जबदेखि जनआन्दोलनमा सहभागी भएका थिए, त्यही दिनदेखि नेपाली राजनीतिको मौलो बनेर आफू र आफन्त सबैलाई मौलाईरहेका छन्। राजनेता, जननेता, बन्न नसके पनि जनयुद्धले प्रचण्डलाई सत्ता नेता चाहिं बनायो, हेर्दै जानुपर्छ अरु के के बनाउँछ।
अहिले दोस्रो पटक तिनै प्रचण्ड लोकतान्त्रिक गणतन्त्र नेपालका पुनः प्रधानमन्त्री अर्थात सरकार कमाण्डर बन्नपुगेका छन्। सडकमा हुँदा अव बुद्ध जन्मन्छ कि जंगबहादुर भनेर कुर्लने प्रचण्ड सरकार कमाण्डरबाट बुद्ध बन्छन् कि जंगबहादुर? उनकै भविष्यवाणी मान्ने हो भने दुबैको मिश्रित स्वरुप पनि जन्मनसक्छ। शान्ति पर्व कि कोतपर्व? जीवनको उत्तरार्द्धमा अशोकले त बुद्धका सामु तरवार बिसाए, प्रचण्डले बन्दुक बोकेर कसरी माओ बन्न सक्लान् र?