उत्कृष्ठ, सर्वोत्कृष्ठ, अत्यधिक बहुमतले बनाएकोसंविधान ३ महिना चलेन, संशोधन गर्नुपर्यो। एकवर्षमा पनि कार्यान्वयन हुनसकेन, फेरि संशोधन प्रक्रिया सुरु भएको छ। यस पटक मधेसी मोर्चा, जनजाति, आदिवासीको पक्षमा संवोधन गर्ने नाममा भारतलाई मनाउन, खुशी पार्न संविधान संशोधन गर्ने तैयारी चलेको हो। प्रधानमन्त्रीको भारत भ्रमण यसै महिनाको अन्तमा हुँदैछ र जानु अघि संसदमा संविधान संशोधनको प्रक्रिया सुरु गरेर प्रधानमन्त्री भारत जाने होमवर्कमा लागेका छन्।
भारतको आदेश मानिन्न भन्ने यिनै प्रचण्ड हुन्। त्यसो भन्नेले त्यही भारतमा विशेष दूत किन पठाएको? संशोधनका ४ बुँदा किन बुझाएको? संसद तताउँदै आगो बालेको छ एमालेले। भारतका प्रधानमन्त्री मोदीलाई पठाएको पत्र संसदमा पेश गर भनेर एमालेले माग गरिरहेको छ। सरकारका विशेष दूत विमलेन्द्र निधिले पत्र लिएर गएको, पत्र दिएको स्वीकारेपछि भनेका छन्– पत्रमा दुई देशको सम्बन्ध सुधार गर्ने अपेक्षा र नेपालको पुनमर्िाणमा भारतको सहयोग चाहेको उल्लेख छ भनेर संसदलाई मनाउने प्रयत्न गरे, पत्र पेश गरिएन।
भारत र नेपालका सञ्चार, कूटनीतिक बृत्तमा हल्ला छ– प्रचण्डले संविधान संशोधन गर्छु भनेर कायलनामा नै पत्रमा लेखेर पठाएका छन्। यही लेटरबम संसदमा धमाकाका साथ बिस्फोट भइरहेको छ र प्रतिपक्षमा बसेको एमाले भन्दैछ– संविधान संशोधन किन गर्ने? कसका लागि गर्ने? कुन कुन बुँदामा गर्ने? संशोधन किन आवश्यक भयो? संशोधनपछि नेपाली एकता, सहमति र सहकार्यको कसरी विकास सम्भव छ? भन्ने प्रश्नको उत्तर खोजिरहेको छ। एमालेले यी प्रश्नको जवाफ नपाएसम्म संविधान संशोधनमा साथ नदिने निष्कर्ष पनि निकालिसकेको छ।
अर्थात संविधान संशोधन गरेर मधेसी मोर्चासहितका जनजाति, आदिवासीलाई समेटेर सरकारलाई पूर्णता दिने र चुनावमा जाने प्रधानमन्त्री प्रचण्डको रणनीतिमा एमाले तगारो तेर्स्याएर देशभक्तिको गीता पाठ गरिरहेको छ।
मधेसी मोर्चा र जनजातिले लामो संघर्ष गरे। दर्जनौं व्यक्ति मारिए पनि। तर यो संघर्षले एकता भाँडियो, भारतसँग सम्बन्ध चिस्सियो, आन्तरिक राजनीति खलबलियो। अव देशको आवश्यकता के हो भन्ने निर्क्यौल नै नगरी संविधानको तेस्रो संशोधनको तैयारी चलेको छ। यो पटकको संशोधन भारतलाई भनेर, भारतको सहयोग लिएर हुन लागेकाले नेपालको संविधानले नेपालको मूल कानुनका रुपमा काम गर्न सक्दैन, संविधान समाधान नभएर समस्याको पोको बन्न पुगेको निष्कर्ष संविधानविदहरुको रहेको छ।
संविधान संशोधन हुनसक्छ, परिवर्तनीय पनि छ। यो कस्तो संविधान हो, जुन संविधान ९१ प्रतिशत सांसदले पास गर्छन् तर कार्यान्वयन हुनैसक्दैन। ती सांसद जनताका प्रतिनिधि होइनन् कि? हुन् भने किन संविधानले काम गर्दैन? अझै पनि राष्ट्रिय सहमति निर्माण गरेर संविधान संशोधन गर्ने, चुनावमा जाने र संविधान कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइरहेका छन् ठूला पार्टीहरु। राष्ट्रलाई यसरी प्रयोगशाला बनाइरहने?संविधान दुर्घटनामा परिसक्यो। संविधान असफल भइसक्यो। जनताको माग, देशको आवश्यकता संवोधन गर्न नसक्ने पनि संविधान हुन्छ? प्रत्येक समस्याको पूर्ण समाधान हुनुपर्नेमा विवाद, विद्रोह, विखण्डन, विभेद मात्र जन्माइरहेको छ संविधानले। यसकारण अव समय आयो– देशलाई बेनिभोलेन्ट निरंकूश तानाशाह दिने कि लोकतान्त्रिक व्यवहारमा नेताहरु खरो उत्रने? अन्यथा यसैगरी संविधानलाई भारतले खेलाइरहनेछ र हामी उसले भन्दैमा संशोधन गरिरहनेछौं।