
हरेक वर्ष झैँ यसवर्ष पनि माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ९२ वर्षअघि १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउन थालिएकाे हाे ।
बि.सं. २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएसँगै आज २८ औँ भूकम्प सुरक्षा दिवस मनाउन लागिएकाे हाे । बि.सं. १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको ८.४ म्याग्निच्यूडको भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको थियो ।
१९९० सालको भूकम्पमा परी ८ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो । त्यसैगरि ८० हजार घर ध्वस्त भएका थिए भने घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार २ सय ४८ संरचना भत्किएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीले जनाएका छन् ।
त्यसपछि २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा पनि देशले ठूलाे जनधनकाे क्षति व्यहाेर्न परेकाे थियाे भने त्यसपछि पनि बेला बेलामा सानाे ठुलाे भुकम्पहरू गइरहेका छन् ।


