Advertisement Banner
Advertisement Banner

०२ बिहिबार, माघ २०८२9th January 2026, 2:05:00 am

आज माघे सङ्क्रान्ति मनाइँदै

०२ बिहिबार , माघ २०८२एक घण्टा अगाडि

आज माघे सङ्क्रान्ति मनाइँदै

आज माघ महिनाको पहिलो दिन माघे सङ्क्रान्ति अर्थात मकर सङ्क्रान्ति घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।

याे पर्व नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्लासपूर्वक मनाउने गर्दछन् भने विशेष गरी थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । माघे सङ्क्रान्ति पर्वमा घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकारहरू खाएर रमाइलो गर्ने प्रचलन रहेको छ । उक्त खानेकुराहरूले जाडोमा न्यानो प्रदान गर्ने भएकाले पनि ती खानेकुरा खाने प्रचलन रहेकाे हाे ।

त्यसैगरि आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास समेत रहेकाे पाइन्छ । यता तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउने गर्दछन् ।

आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गर्दछ भने उक्त ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ । त्यस्तै माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जाने गर्दछ ।

त्यस्तै माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा राष्ट्रपति रामचन्द्र पाैडेल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायतले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।