
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारी दर्ता गराएका उम्मेदवारले आज दिउँसाे ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने समय ताेकिएकाे छ । आयोगले जारी गरेको सूचना अनुसार यहि पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा दिउँसाे ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने बताएकाे हाे ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस गरेको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने बताइएकाे हाे ।
आयोगले सम्बन्धित सबै उम्मेदवारलाई उक्त जानकारी गराउँदै आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने बताइएकाे छ । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछन् ।
त्यस्तै आयोगले कुनै कारणवश सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत पनि नाम फिर्ता लिन निवेदन दिन सकिने समेत जानकारी गराएकाे छ । कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १ सय ६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० जना निर्वाचित हुने व्यवस्था रहेकाे छ ।


