
आज विविध कार्यक्रमकाे आयोजना गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ साल पुष २७ गते जन्मिएका राष्ट्रनिर्माता शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विविध कार्यक्रमकाे आयोजना गरी भव्य रुपमा मनाउन लागिएकाे हाे ।
राष्ट्रको निर्माण र एकीकरण अभियानमा उनले पुर्याएकाे योगदानको स्मरण गर्दै आज प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिँदैछ । त्यस्तै नेपाली सेनाले हरेक वर्ष झैँ यसवर्ष पनि पृथ्वी जयन्तीका अवसरमा जङ्गीअड्डा परिसरमा रहेको शाहाकाे पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दैछ ।
यता पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोहको आयोजना गर्दैछ । राप्रपाकाे उक्त समारोहमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्षनेता, पूर्वप्रधानमन्त्री र विभिन्न व्यक्तित्वलाई आमन्त्रण गरिएकाे छ ।
तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग तथा सहभागितामा छरिएर रहेका बाइसे, चौबीसे राज्यलाई एकीकृत गरेकाे र उनकाे जन्मस्थान समेत गाेरखा भएकाले गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ ।
बीस वर्षको उमेरमा गद्दीआरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ५२ वर्षको उमेरमा १८३१ सालमा निधन भएको थियो ।
त्यसैगरि पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उनीप्रति श्रद्धासुमन अर्पण गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् ।


