Advertisement Banner
Advertisement Banner

२७ आइतबार, पौष २०८२9th January 2026, 2:05:00 am

प्रहरी समाचार

२६ शनिबार , पौष २०८२१८ घण्टा अगाडि

प्रहरी समाचार

प्रहरी महानिरीक्षकबाट ट्राफिक सप्ताह उद्‍घाटन
काठमाडौं, २६ पुस । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शनिबार आयोजित विशेष समारोहबीच ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह(२०८२’ को पानसमा दीप प्रज्वलन गरी उद्‌घाटन गर्नुभयो । 
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा आयोजित उक्त कार्यक्रमको सुरूमा सुरक्षा निकायका प्रतिनिधिहरू, सामुदायिक प्रहरी, पर्यटक प्रहरी, नेपाल स्काउट, विभिन्न सरोकारवाला निकायहरूका प्रतिनिधिहरू, विद्यार्थीहरू, ट्राफिक भोलेन्टियर लगायतको सहभागितामा सडक सुरक्षा सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्‍याली बसन्तपुर कुमारीघरबाट शुरू भई न्यूरोड गेट, बिर अस्पताल, रणोद्धिप, पुरानो बसपार्क, भद्रकाली, सिंहदरबार हुँदै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो ।
    समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मेट्रो ट्राफिक एफएम ९५।५ मेगाहर्जको पुनस् निर्माण भवनको समुद्‌घाटन समेत गर्नुभयो । साथै उहाँले भवन पुनः निर्माणमा योगदान पुर्‍याउनुहुने महानुभावहरूलाई कदरपत्र प्रदान गर्नुभयो । 
    कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्की र शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डा. युवानिधी बसौलाबीच समझदारीपत्र आदान प्रदान भएको थियो ।  
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले आमनागरिकमा ट्राफिक सचेतना अभिवृद्धि गर्न एवम् दुर्घटना न्यूनीकरण गर्न यस अभियान फलदायी हुने बताउनुभयो । सडक दुर्घटना न्यूनीकरण गर्न सरोकारवाला निकायहरूको संयुक्त जिम्मेवारी आवश्यक रहेको उहाँले बताउनुभयो । ट्राफिक प्रहरीका साथ साथै सडकको गुणस्तर, सडकको क्षमता, सवारी साधनको गुणस्तर, सवारी चालक र अन्य समुदायको चेतना र आचरणले समेत सडक दुर्घटना न्यूनीकरणमा ठूलो भूमिका रहने उहाँले उल्लेख गर्नुभयो । 
कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता दंगोल, वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष दिपक केसी र राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले सडक सुरक्षा बारेमा आ(आफ्नो धारणा सहितको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक इश्वर कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य बारे प्रकाश पार्नुभएको थियो । 
    कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा तयार पारिएको सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक वृत्तचित्र, ट्राफिक प्रहरी तथा बालकलाकरबाट नृत्य समेत प्रस्तुत गरिएको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
काठमाडौं, २६ पुस ।  झापा, बिर्तामोड नगरपालिका(४ मुनाल टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४१ ग्राम ५ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका १ पाण्डे चोक बस्ने २५ वर्षीय निरोज लिम्बु र सोही नगरपालिका २ पृथ्वी नगर बस्ने २६ वर्षीय सागर प्रधान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको स्कुटर समेत बरामद गरेको छ ।
    नवलपरासी पूर्व, कावासोती नगरपालिका १६ चालिसकिलो जंगल नजिकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९ सय ९५ एम्पुल, प्रोमेथाजाइन ८ सय ९८ एम्पुल र बुप्रेनोर्फिन ८ सय ७७ एम्पुल सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका(१३ बस्ने २५ वर्षीय रामु नाउ र सुनवल नगरपालिका(७ बस्ने २७ वर्षीया राज कुमारी कुँवर रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व समेतबाट खटिएको प्रहरीले सुनौलीबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    बर्दिया, बढैयाताल गाउँपालिका(२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम सहित बाँसगढी नगरपालिका ६ बस्ने २४ वर्षीय राम कुमार थारूलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
    यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका २ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका ५ बस्ने १७ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
    मोरङ, पथरीशनिश्चरे नगरपालिका ४ सम्झना चोक बस्ने २३ वर्षीय ज्ञानदिप राई समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले राईको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
    उदयपुर, त्रियुगा नगरपालिका १० बोक्सेचोक नजिकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ५० एम्पुल, फेनारगन १ सय ५० एम्पुल र ब्रुप्रेनोर्फिन १ सय ५० एम्पुल सहित सोही नगरपालिका(९ रातमाटे बस्ने रेम्बो भनेर चिनिने ३२ वर्षीय जहान सिंह खत्रीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

एकनाले भरूवा बन्दुक बरामद
बागलुङ, २६ पुस । ढोरपाटन नगरपालिका(४ छोरेगाउँस्थित भिरखर्क सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक २ थान शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।