
काठमाडौँ उपत्यकालगायत मुलुकभर चिसाे ह्वात्तै बढेको छ । चिसाे बढेसँगै आज बिहान काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ ।
आज बिहान ५:४५ बजेको काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बिहानकाे सुरुवाती मापन (इनिसियल रेकर्ड) मा तापक्रम ३ डिग्री सेल्सियस देखिएको र यो बिहानीपखको प्रारम्भिक तथ्यांक मात्र भएकाे महाशाखाकाे भनाइ रहेकाे छ ।
केही दिनदेखि उपत्यकाको तापक्रम स्थिरजस्तै देखिए पनि चिसो बढेकाले जनजिवनमा प्रभाव परेकाे छ । मौसमविद्हरूका अनुसार आज सुरुवाती चरणमै तापक्रम ३ डिग्री देखिएकाले याे यस वर्षकै कम तापक्रम रेकर्ड हुन सक्ने अनुमान गरिएकाे छ । देशकै सबैभन्दा चिसो मानिने जुम्लामा हिजाे न्यूनतम तापक्रम माइनस ८.१ डिग्री सेल्सियस रेकर्ड भएको महाशाखाले जनाएकाे छ ।
यसरी दैनिक चिसाे बढेसँगै तराइमा हुस्सु र शितलहर चल्न थालेकाले तराइ क्षेत्रकाे जनजिवन कष्टकर बनेकाे छ भने बालबालिका र बृद्ध-बृद्धा समस्यामा परेका छन् ।


