
सरकारले आगामी फागुन २१ गते हुन लागेकाे प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन प्रहरीको भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना–छनोट शाखाले एक सूचना जारी गर्दै निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको हाे ।
शाखाले जारी गरेकाे सूचनाअनुसार १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरीका लागि भर्ना खुलाएकाे हाे । भर्नाका लागि इच्छुक व्यक्तिले यही पुस २५ गते शुक्रबारदेखि फागुन १ गतेसम्म बिदाको दिनमा समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको उल्लेख गरिएकाे छ ।
विगतमा प्रयोग गरिँदै आएको ‘म्यादी प्रहरी’ शब्दावलीको सट्टा ‘निर्वाचन प्रहरी’ नामाकरण गरिएर भर्ना खुलाइएकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ । इच्छुक उम्मेदवारहरूले काठमाडौँ उपत्यकाभित्रका तीनवटै जिल्ला प्रहरी परिसर (काठमाडौँ, ललितपुर, भक्तपुर) र उपत्यका बाहिरका हकमा सबै जिल्ला प्रहरी कार्यालयहरूमा स्वयं उपस्थित भई दरखास्त फारम बुझाउन सक्नेछन् ।
निर्वाचन प्रहरीमा भर्ना हुनका लागि १८ वर्ष उमेर पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ भने शैक्षिक योग्यताको हकमा साधारण लेखपढ गर्न जान्ने भए पुग्नेछ । त्यसैगरि भर्ना प्रक्रियामा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका पूर्व सुरक्षाकर्मी वा पूर्व वन रक्षकहरूलाई विशेष प्राथमिकता दिइने बताइएकाे छ ।


