
हिजाे साँझ जर्सिङपौवा-साँखु सडकखण्डमा पिकनिकबाट फर्किंदै गरेकाे बस दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका छन् । काठमाडौंको शंखरापुर नगरपालिका-३, लप्सीफेदीस्थित जर्सिङपौवा-साँखु सडकखण्डमा महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएकाे हाे ।
पिकनिकबाट रमाइलो गरि फर्किएकाे यात्रु सवार बस अनियन्त्रित भई सडकबाट तल खसेको थियो । दुर्घटनामा परी घाइते भएका ३१ जनामध्ये २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने घाइतेमध्ये ४ जना उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा कोहलपुर नगरपालिका-५, बाँकेकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथिभरा-५, की ५१ वर्षीया इन्दिरा लिम्बू, सिरहा स्थायी घर भएकी ५५ वर्षीया शान्ती गुप्ता र पाँचथरका ६५ वर्षीय देवेन्द्र लिम्बू रहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले घटना बारे थप अनुसन्धान भइरहेको बताएकाे छ ।


