
काठमाडौं उपत्यकालगायत मुलुकभर घामको उपस्थिति कमजोर बन्दै गएको र चिसाे बढ्दै गएकाले सतर्क रहन आग्रह गरिएकाे छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला केही दिनयता लगातार ओरालो लागेको तापक्रमका कारण जनजिवन प्रभावित हुन थालेकाे हाे ।
अहिले काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस पुगेकाे विभागले जनाएकाे छ । विभागका अनुसार उपत्यकामा आज यो वर्षकै कम तापक्रम रेकर्ड भएको र आज वर्षकै सर्वाधिक जाडो महसुस गरिएको बताइएकाे छ । विभागका अनुसार, देशैभर चिसो बढ्ने क्रममा रहेकाे छ भने आज उपत्यकामा बिहानैदेखि धुम्म मौसम र चिसो हावाका कारण सर्वसाधारणले समस्यामा परेका छन् ।
यता बढ्दो चिसोलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष सतर्कता अपनाउन आग्रह सबैमा गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र न्यानोमा बस्न समेत आग्रह गरेको छ । बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक र दीर्घरोगीहरू चिसोको उच्च जोखिममा हुने भन्दै उनीहरूको स्वास्थ्यमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।


