हिजो सिंहदरवारबाट राजदरवारमा जाहेरी गर्नुपर्थ्यो, राजदरवारले नियन्त्रण र निर्देशन पनि दिन्थ्यो। त्यो पाच्य भएन। किनभने राजा र राजदरवार नेपाली थिए। पराईका प्यादालाई नेपालीपन किन मनपर्थ्यो र? मीठाका लागि अर्काको जुठो खाने बानी लागेपछि बारीको तोरीको साग र ढिँढो कसरी मीठो लाग्थ्यो र? दिल्लीको बासमती चामलको बासी भात नै मीठो। त्यसैले नयाँ नेपाल बनाउने क्रान्तिकारीहरुले सिंहदरवारको जाहेरी दिल्ली दरवारमा गर्न थालेका छन्। अव त अति नै भइसक्यो, संविधान संशोधन र मधेसलाई संवोधन गर्ने सवाल पनि दिल्लीलाई जाहेर गरेर निकासा लिनुपर्ने दिन आएछ।
प्रधानमन्त्री प्रचण्डले कृष्णबहादुर महरालाइ चीन पठाएर चीनलाई खुशी पार्ने र चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमण गर्न निम्तो दिएका छन्। उनले अर्का दूतका रुपमा विमेलेन्द्र निधिलाई दिल्ली पठाएर फास्ट ट्रयाक भारतलाई नै दिने भन्न लगाएका छन्। र, प्रचण्डले विशेष खामवन्दी रुपमा लिखित जाहेरी दिल्ली पठाएर मधेसी र जनजातिको असन्तुष्टि संविधान संशोधन गरेर संवोधन गर्ने, नेपाल सरकार नेपाल–भारत सम्बन्ध सुधार गर्न जस्तोसुकै निर्णय लिन तैयार रहेको, उच्चस्तरीय भ्रमण गराएर सम्बन्धमा अझ मजबुती ल्याउने र नेपालमा भारतीय सहयोग बिस्तार गरेर विकास सम्बन्ध अघि बढाउन तैयार रहेको पत्र पठाएका थिए। जुन पत्रले काम गर्यो। तत्कालै प्रचण्डको भारत भ्रमण र ३१ भदौमा मोदीले प्रचण्डलाई दर्शनभेट दिने कार्यक्रम तय भएको छ। प्रचण्डका लागि योभन्दा हर्षको विषय नहुनसक्छ। तर निरन्तर हस्तक्षेप, अतिक्रमण बढाइरहेको भारत नेपालका लागि मृत्युघण्टा बजेसरह हुनसक्ने देखिएको छ।
प्रचण्डले चीन र भारतसँग राजनीतिक र कूटनीतिक सम्बन्ध सुधार गर्न खोजेको देखिन्छ। तर भ्रमणको होडबाजी चलाएर गर्न खोजेको चाहिं स्वार्थ हो कि सम्बन्ध? भारतकै पकड मजबुत पार्ने गरी जुन चलाखीपूर्ण रणनीति अपनाएको देखिन्छ, यसबाट नेपालको परराष्ट्रनीतिमा विचलन र बालापन नै कायम रहेको विज्ञहरुको टिप्पणीरहेको छ। उनीहरुको आरोप छ– स्वदेशी शक्ति खोसेर विदेशलाई बुझाउने प्रचण्ड दिल्लीका दरवारीलाल बन्नपुगे।