Advertisement Banner
Advertisement Banner

१० बिहिबार, पौष २०८२20th November 2025, 6:33:20 pm

पोखरा-जोमसोम हवाई सेवा तीन महिना बन्द

१० बिहिबार , पौष २०८२२ घण्टा अगाडि

पोखरा-जोमसोम हवाई सेवा तीन महिना बन्द

जाडाे महिना सुरु भएसँगै मुस्ताङ भ्रमण गर्नेको संख्या घट्दै गएपछि पोखरा-जोमसोम हवाई सेवा तीन महिना बन्द हुने भएकाे छ । हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको संख्या घट्दै गएकाले निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका हुन् ।

नागरिक उड्डयन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलका अनुसार नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनका कारण हवाई सेवा स्थगित गरेको जनाएका छन् ।

तीन महिनाका लागि नियमित हवाई सेवा स्थगित भएपनि चार्टर र आपत्कालीन हेली सेवा नरोकिने प्रमुख पोखरेलले बताएका छन् । तारा एयरलाइन्स मुस्ताङका स्टेशन इञ्चार्ज सुचन लालचनले कम्पनीले डिसेम्बर ४ देखि मार्च एक सम्म पोखरा-जोमसोम उडान स्थगित गरेको बताएका छन भने समिट एयरलाइन्स कम्पनीले नियमित उडान दुई महिनाका लागि स्थगित गरेको जनाएको छ ।

हिउँदकाे समयमा मुस्ताङमा हावाहुरी चल्ने भएकाले पनि पोखरा-जोमसोम उडान प्रभावित हुने गरेकाे छ भने पछिल्लो समय बेनी-जोमसोम-कोरला सडक सहज हुँदै जान थालेपछि हवाई यात्रुको सङ्ख्या घट्दै गएको बताइएकाे छ ।