
चालु आर्थिक वर्षको पाँच महिनामा ७२ अर्ब २८ करोड रुपैयाँ बराबरकाे पेट्रोलियम पदार्थको आयात भएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्ज भन्सार नाका हुँदै उक्त परिमाणका पेट्रोलियम पदार्थको आयात भएको हाे ।
उक्त अवधिमा वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट मात्र ३० अर्ब २५ करोड राजस्व सङ्कलन गरेको बताइएकाे छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको बताएका छन् ।
गत आर्थिक वर्षको साेहि अवधिकाे तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भने ६.४२ प्रतिशत अर्थात् १ अर्ब ८३ करोड बढी राजस्व सङ्कलन भएको छ । जबकि गत आर्थिक वर्षको पाँच महिनामा ६९ अर्ब १५ करोड मूल्यका पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको थियो ।
चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्ज हुँदै ३५ अर्ब ३१ करोड मूल्यको डिजेलको आयात भएकाे छ । त्यस्तै १७ करोड ३६ लाख मूल्यको पेट्रोल र १२ अर्ब १७ करोडको एलपी ग्यासको आयात हुँदा ७ अर्ब २५ करोडको एटिएफ र १९ करोडको मट्टितेल आयात भएको छ ।


