
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज धरौटीमा रिहा हुँदैछन् । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका लामिछानेलाई उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले हिजाे धरौटीमा छाड्न आदेश दिएकाे थियाे ।
अदालतकाे आदेशसँगै २ करोड ६८ लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने थुनामुक्त हुन लागेका हुन् । हाल ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछानेको रिहाइ प्रक्रिया भने रुपन्देही पुगेपछि मात्र पूर्ण हुने बताइएकाे छ ।
लामिछाने कानुनी प्रावधानअनुसार जिल्ला अदालत रुपन्देहीमा उपस्थित भई कागजात प्रमाणीकरण गरेपछि मात्र औपचारिक रूपमा रिहाइको पत्र पाउनेछन् भने उक्त प्रयोजनका लागि उनलाई आजै भैरहवा लगिँदैछ ।
हिजाे साँझ लामिछाने छुट्ने हल्लाका कारण नख्खु कारागार परिसरमा समर्थकहरूको बाक्लो भीड लागेकाे थियाे । तर, अदालती प्रक्रिया पूरा गर्न बाँकी रहेकाले लामिछाने आज मात्र छुट्न लागेका हुन् ।


