
गएराति १२ बजेपछि लागू हुनेगरि डिजेल र मट्टितेलको मूल्य घटेकाे छ भने पेट्रोलको मूल्य बढेकाे छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गरेकाे हाे ।
नयाँ मूल्यसूची अनुसार निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएकाे छ । त्यसैगरि निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाइएको छ ।
जसअनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा कायम भएको छ । सोही स्थानमा डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा तोकिएको छ ।
त्यसैगरि दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ तथा डिजेल तथा मट्टितेल १४१ रुपैयाँ कायम गरिएको छ । तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४२ रुपैयाँ कायम गरिएकाे निगमले जनाएकाे छ ।


