
नेपाल प्रिमियर लिग (एनपिएल) को दाेश्राे संस्करण अन्तर्गतकाे अन्तिम खेल भाेलि मंसीर २७ गते शनिबार हुँदैछ । काठमाडौँकाे कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे हुने अन्तिम तथा फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै फाइनल यात्रा तय गरेकाे थियाे । त्यसैगरि लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै फाइनल पुगेकाे हाे । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।
सुदूरपश्चिमकाे कप्तान दीपेन्द्रसिंह ऐरीको टाेली यसपटककाे उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा देखिन्छ ।
यता गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वको लुम्बिनी यसपटक जसरी भए पनि उपाधि जित्ने दाउमा छ । लिग चरणमा सुदूरपश्चिमले ७ विकेटले पराजित गरेकाे लुम्बिनीले फाइनल खेलमा सुदूरपश्चिमलाई हराएर उपाधि जित्ने तयारीमा छ ।
एपिएलको विजेताले १ करोड १० लाख पुरस्कार प्राप्त गर्नेछ भने उपविजेत टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो हुनेले १५ लाख प्राप्त गर्नेछन् । नेपाल क्रिकेट संघको आयोजनामा मंसीर १ गतेदेखि सुरू भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेका थिए ।


