
नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर निर्माणका कामलाई निरन्तरता दिन लागिएकाे छ । सवारीसाधन निरन्तर आवतजावत हुँदा सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि निर्माण व्यवसायी र सम्बन्धित आयोजनाले सडक निर्माणकाे गति बढाउन सडक बन्द गरेर निर्माणका कामलाई तिब्रता दिन लागिएकाे हाे ।
यही मंसीर २४ गतेदेखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गरेर ट्राफिक व्यवस्थापन गरी सडक निर्माणलाई तिब्रता दिने लक्ष्यका साथ सडक बन्द गर्न लागिएकाे जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङद्वारा जारी संयुक्त सूचनामा उल्लेख गरिएकाे छ ।
अहिले त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा रहेकाले उक्त सडकको काठमाडौँ जिल्ला भित्र पर्ने नागढुङ्गा पिप्लामोड खण्ड कालोपत्रेकाे तयारी र धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ ।
उक्त नागढुङ्गा देखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा यही मंसीर २४ गतेदेखि पुस १ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसाे साढे ३ बजेसम्म सडकखण्डमा आवागमन बन्द हुने बताइएकाे छ । सडक आवागमन बन्द हुने समयमा वैकल्पिक सडक प्रयोग गर्न र आफ्नो यात्रा समय मिलाउन सूचनामा आग्रह गरिएको छ ।
उक्त समयमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुङ्गा चेकपोस्टमा रोकिनेछ भने मुग्लिङबाट काठमाडौँ तर्फ जाने सवारी साधन खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे), गल्छी–गजुरी खण्डको लागि गल्छी, बैरेनी र मासटारमा रोकिनेछ । तर, अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण हुने जनाइएको छ ।


