Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

नेपाल प्रहरी समाचार

११ बुधबार , मंसिर २०८२८ घण्टा अगाडि

नेपाल प्रहरी समाचार

तीन जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
काठमाडौं, १० मंसिर 
     प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति हुनुभएका ३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कार्कीले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
    नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ मंसिर ८ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा १ जना, नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ मंसिर ८ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा १ जना गरी जम्मा ३ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।   
    दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की तथा प्रहरी नायव महानिरीक्षक विश्व अधिकारी र प्राविधिक प्रहरी नायव महानिरीक्षक ई। राम कुमार चौधरी रहनुभएको छ । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्कीले दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूका धर्मपत्नी एवम् परिवारजनहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।   
    दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । जेष्ठता, कार्यकुशलता, विधि एवम् पद्धतिका साथै व्यावसायिक निष्ठाका साथ निर्वाह गरेको जिम्मेवारीको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरूको नेतृत्वदायी भूमिका र नेतृत्व क्षमताबाट प्रहरी सेवामा प्रभावकारी योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  
    प्रहरी महानिरीक्षक कार्कीले मुलुक संवेदनशील अवस्थामा रहेकोले यस्तो अवस्थामा प्रहरी जनताको सेवामा समर्पित हुन आवश्यक रहेको चर्चा गर्दै निस्वार्थ सेवाभाव, शिष्ट व्यवहार, उत्कृष्ट आचरणलाई आत्मसाथ गरी नागरिकको अपेक्षा अनुरूप प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरू थप क्रियाशील हुनुपर्ने बताउनुभयो । प्रहरी प्रतिको नागरिक विश्वास अभिवृद्धि गर्न व्यावसायिक कार्यसम्पादनमा जोड दिई सेवा प्रवाहलाई थप चुस्त बनाउन समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । 
    समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूर्ण व्यवसायिक निष्ठा र इमानदारीपूर्वक कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
    दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।  

३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान
काठमाडौं, १० मंसिर 
नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक ९हलुका० उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित सवारी चालक उन्नत तालिम ३०औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।   
तालिम समापनका अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिमले सवारी साधनको मर्मत सम्भार, सवारी चलाउँदा अपनाउने सुरक्षा विधि, ट्राफिक नियम सम्बन्धी ज्ञान प्रदान गरेको चर्चा गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त सीपलाई जस्तोसुकै परिस्थितिमा पनि दक्षता र कुशलतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १६ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।