
लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान भव्यताका साथ मनाउन आह्वान गरिएकाे छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले साझा प्रतिबद्धता र ऐक्यबद्धता जनाउँदै सबै निकायलाई लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान भव्यताका साथ मनाउन आह्वान गरेको हाे ।
हरेक वर्ष जस्तै यस वर्ष पनि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अभियान मनाउन मन्त्रालयले सम्बद्ध सबै निकायमा परिपत्र गर्दै विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ । अभियानको मुख्य उद्देश्य लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने र प्रविधिको सही प्रयोगमार्फत हिंसा रोक्ने रहेको छ ।
देशभर तीनै तहका सरकार, विद्यालय, संघसंस्था र सरोकारवाला निकायहरूको सहभागितामा मनाउन समेत मन्त्रालयले आह्वान गरेकाे मन्त्रालयअन्तर्गत लैंगिक हिंसा निवारण शाखाका प्रमुख महिला विकास अधिकृत ममता विष्टले जनाएकी छन् ।
अभियानकाे यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ र राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँ: लैंगिक हिंसा अन्त्य गरौँ’ भनेर तय गरिएको छ ।


