
नेपाली गीत, गजल, कविता, कथा र उपन्यासजस्ता विविध विधामा निरन्तर कलम चलाइरहेकी साहित्यकार खगिन्द्रा खुसी पछिल्लो पुस्ताकी शक्तिसाली लेखिका हुन् । मोफसलमा बसेर पनि केन्द्रलाई चुनौती दिइरहेकी साहित्यकार खुसीको ’आमाको डायरी’ कथा संग्रह र ‘खुशीको गाउँ’ उपन्यास प्रकाशित छन् । हालै प्रकाशित उपन्यास ‘खुशीको गाउँ’ अहिले चर्चामा छ । तीनै साहित्यकार खगिन्द्रा खुसीसँग गोरखा एक्सप्रेस राष्ट्रिय साप्ताहिकसँग गरिएको छोटो कुराकानीः
खुसी जी ! स्वागत छ ।
तपाईले लेखेको उपन्यास ‘खुशीको गाउँ’ कस्तो उपन्यास हो ?
यो उपन्यासको कथाबस्तु शरणार्थी शिविर र नेपाली वस्ती बीचको सम्बन्धमा आधारित छ। यसरी हेर्दा यो उपन्यासले एउटा मिश्रीत अस्तित्व बोकेको छ भन्ने लाग्छ । आफू लेखक हुनुको नाताले ’खुशीको गाउँ’ कस्तो उपन्यास हो भन्ने म सँग असाध्यै सरल जवाफ छ । वास्तवमा मेरालागि यो ‘प्रेममा आधारित मनोसामाजिक यथार्थबादी’ उपन्यास हो । तर पुस्तक बजारमा आए पछि जून खालका समालोचनाहरू भएका छन् यसले मलाई नै झस्काएको छ । किन भने यो कस्तो उपन्यास हो भन्ने बारे जून खालका समालोचनाहरू आएका छन् त्यसले मलाई सोच्न बाध्य पारेको छ र म असाध्यै उत्साहित पनि भएकी छु । खुशीको गाउँ उपन्यासको समाज शास्त्रीय र मानव शास्त्रीय कोणबाट पनि समीक्षा भएको छ । आलोचक र समालोचकहरूले गरिबको अर्थशास्त्र र प्रेमको सौन्दर्य चिन्तनको वहस पनि उठाएका छन् । दर्शनमा आधारित फरक–फरक सामाजिक अन्तरघुलनको सामाजिक बनोट र शरणार्थी संघर्षको अन्तर्राष्ट्रिय आयामबारे पनि उपन्यासले समीक्षा पाएको छ । प्रेम बारे कति हो कति वहस भएको छ त्यो त कुरै नगरौं । यसरी हेर्दा यो उपन्यासमा केही विशेष लेखिएको छ भन्ने त स्पष्ट भएको छ तर ठ्याक्कै कस्तो उपन्यास हो ? भन्ने कुराको जवाफ पाठक र समीक्षकहरूले दिएको नै मिठो र सुन्दर ठानेर रमाएकी छु । उपन्यासले केन्द्रीय वहस पाएको छ म थप केही लेख्न कम्मर कसेकी छु ।
तपाईं कथाकार पनि हो तपाईको दृष्टिमा कथा र उपन्यासमा के फरक छ ?
पहिलो कुरा त उपन्यास र कथामा आकार मै फरक परिहाल्छ तर त्यो भन्दा विशिष्ट कुरा कथा र उपन्यासको प्लट नै भिन्नै हुन्छ। कथामा जीवनको मनोविज्ञान मात्र आउँछ । मनोविज्ञानको ’फ्लास ’ लाई नै जीवन बुझ्ने भ्रम हुन्छ कथामा तर उपन्यास सम्पूर्ण जीवनको वातावरणीय परिधिलाई नै लिएर अगाडि बढेको हुन्छ । उपन्यासमा कथा हुन्छ तर कथामा उपन्यास हुँदैन । किन भने उपन्यासमा स्थानीय चित्रण तथा वातावरण भित्रको विभिन्नतालाई देखाउन सकिन्छ । तर कथामा सकिन्न ।
कुनै पनि लेखक वा कविले लेख्दा जीवनप्रति आफ्नै साहित्यिक दृष्टिकोण हुने कुरा हो कि हैन ?
यो चाहिँ मेरालागि सरल जस्तो लाग्ने तर असाध्यै अफ्ठ्यारो प्रश्न हो । खासमा यो प्रश्नको जवाफ समालोचकहरूबाट खोजियो भने राम्रो हुन्छ होला जस्तो लाग्छ । तर आजसम्म समालोचकहरूले साहित्यको मापदण्ड के हो ? भन्ने कुरा ठोस रूपमा सृजना गर्न सकेका छैनन् तर यस प्रश्नमा पनि म भाग्न चाहन्न म कविता पनि लेख्ने मान्छे भएको हुनाले मेरो विचारमा लेखक वा कविले लेख्दा जीवन प्रति आफ्नै साहित्यिक दृष्टिकोण हुन्छ भन्ने दाबी छ । यसबारे समालोचकहरूले धेरै मेहनत गर्नु पर्छ जस्तो लाग्छ ।
लेख्नु शौख, अम्बल वा पेशा के हो ? आफ्नो घर गृहस्थी, साहित्य र पेशाको तालमेल कसरी मिलाउनु भएको छ ?
साहित्य मेरा लागि एक प्रकारको नशा हो । पहिले पहिले साहित्य केवल मनका भाव पोख्ने माध्यम मात्र हो जस्तो लाग्थ्यो तर जब म निरन्तर लेख्दै गएँ त्यसपछि मलाई मेरा आफन्त र साथीहरूले जून हौसला दिनु भयो पत्याउनु हुन्न होला तर म त्यो हौसलाले आज पूर्णकालीन लेखक भएकी छु । साहित्य लेख्नु आज मेरो पेशा पनि हो भन्ने अनुभूति भएको छ । साथीभाइले व्यवसायिक लेखक बन्न हौसला दिएका छन् ।
साहित्य लेखेर जीवनलाई सधैं सक्रिय राख्न सकिन्छ र ?
यो सार्है महत्वपूर्ण प्रश्न हो । मलाई के लाग्छ भने जीवन कुनै क्षेत्रमा सधैं सक्रिय भइरहन सक्छ भने त्यो केवल साहित्य र साधनामा मात्र संभव छ । समयको चालसँग बाँच्न कसैले सक्छ यदि भने त्यो स्रष्टा र योगीले मात्र सक्छ भन्ने मलाई लाग्छ । म भित्र भएको साहित्य लेखनको हुटहुटीले मलाई निस्क्रिय हुन दिँदैन ।
तपाई त गीत पनि गाउनु हुन्छ हैन् ?
हाहाहा..... गीत गाउँछु, रेकर्ड पनि गरेकी छु ।
गीत गाउने मात्र होइन नाच्छु पनि ।
गीत संगीतबारेमा के भन्नु हुन्छ ?
मेरो विचारमा नेपाली गीत सङ्गीतमा अहिले दुई रूप देखिएको छ । एउटा लोकलयको आधारमा विकसित भएको र अर्को विदेशी प्रभावमा परेको । आश्चर्य के छ भने विदेशी प्रभावका गीत संगीतप्रति आजका युवा पुस्ताको आकर्षण छ । व्यवसायिकता पनि यो प्रभावमै फस्टाएको देख्छु । यो राम्रो होइन । किनभने हामीले हाम्रो उत्पादनको बजार गर्न नसक्दाको परिणाम यो स्थिति आएको छ । मेरो भनाइ के छ भने हामीले हाम्रो मौलिक गीत संगीतको पनि व्यवसायिक करण र अंतर्राष्ट्रीयकरण गर्नुपर्छ । यो गर्ने अहिलेको परिवेश सुनौलो मौका हुन सक्छ ।


