बाबुराम, वैद्य र विप्लवको आक्रमण रोक्न सक्लान्?
प्रचण्ड नेतृत्वको सरकार बन्ने विषयमा कुनै द्विविधा रहेन। एमाले प्रतिपक्षमा बस्ने भयो, कांग्रेसले ९ महिनाका लागि प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेर, त्यसपछिको सरकारको नेतृत्व गर्ने र चुनाव गराउने अभिभारा लिन तैयार भएको छ। अव सरकार परिवर्तन हुनु स्वभाविक लाग्न थालेको छ किनकि कुनै पनि सरकार वर्ष दिन टिक्नु आश्चर्यको विषय कुन थालिसकेको छ।
९ महिने सरकारका बन्नलागेका प्रधानमन्त्री प्रचण्डलाई आफ्नै जनयुद्धकालीन साथीहरुले भारतीय दलाल, राष्ट्रघाती भनिसके। रोहितजस्ता नेताले समेत भारतले भनेको नमान्दा ज्यान जानसक्छ, मान्दा देश भनेर प्रचण्ड सरकार दुईधारे तरवारमा टेकेर बन्न लागेको ुखलासा गरिसकेका छन्। प्रचण्ड सरकार निर्माण गर्न लागेका बेलामा
बाबुराम, बैद्य र विप्लव सडकमा सक्रिय छन्, एमाले आफ्नो सरकार ढाल्ने भनेर प्रचण्डमाथि आरोपको वर्षा नै गरिरहेको स्थिति देखिन्छ। अर्थात कमरेड प्रचण्डको सरकारविरुद्ध थुप्रै कमरेडहरुको सिङजूरो उमि्रएको देखिन्छ। प्रधानमन्त्री बन्न प्रचण्डलाई कांग्रेस र मधेसी मोर्चाकै कारण सहज भएको देखिन्छ। तर मधेसी मोर्चाका प्रदेश र सिमांकनका माग कसरी पूरा गर्ने, त्यो महाभारत लड्न प्रचण्डका लागि सहज हुनेछैन। एमाले बढी क्रुद्ध नहोस् भनेरै हुनेवाला प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले ओलीसरकरले सिफारिस गरेका राजदूत र न्यायाधीशको नियुक्तमात्र होइन, अन्य संसदकै विशेषाधिकार हनन भएका विषयमा समेत आँखा चिम्लिएको छ।
२०६५ सालमा प्राप्त भएको प्रधानमन्त्री पाउन ८ वर्ष लड्नु परेको व्यथा अहिले पनि प्रचण्डभित्र चहराइरहेको हुनुपर्छ। यो अवसरको सूत्रधार भारत नै हो र भारतको चित्त कसरी बुझाउने भन्ने पिरलो पनि प्रचण्डलाई पक्कै छ। मुखले पहिले चीन जान्छु, चीनका राष्ट्रपतिको नेपाल भ्रमण सम्भव र सफल पार्छु, दुबै मुलुकसँगको कूटनीतिक सम्बन्ध बलियो बनाउँछु भनेर जतिसुकै कुर्लिए पनि यथार्थमा प्रचण्ड भारतको रोडम्यापभन्दा दायाँवायाँ लाग्नै सक्दैनन्। किनकि भारतको सहयोग बिना यसरी एमाले सरकार ढाल्न र नयाँ सरकार बनाउन सम्भव नै थिएन। ओलीलाई दण्ड र प्रचण्डलाई पुरस्कार मिलाउन सक्नेले गुरुदक्षिणा त माग्छ माग्छ।
स्वयं केपी ओलीलाई सरकार यसरी ढल्छ भन्ने अनुमान नै थिएन। १५ दिन अघि चीनको दबाबमा रोकिएका प्रचण्डलाई १५ दिनभित्रै कसले कुन शक्तिले उफार्यो र मन्त्री फिर्ता गरेर नयाँ सरकार गठन गर्ने तारतम्य मिलायो। त्यस्तो कुनै अचम्मिच पार्ने शक्ति नेपालमा त छैन। जहिले पनि आकाशवाणीमा चल्ने हाम्रा नेताहरुलाई यसपटक पनि आकाशवाणी भयो र सरकार ढल्यो। प्रचण्डका लागि सरकार निर्माण गर्ने वातावरण बन्यो। प्रचण्डको तालुमा आलु फल्यो। संक्रमणकाल रहुन्जेल यो सरकार प्रतिस्थापन हुनैसक्दैन भन्ने एमाले त्यतिबेला छानाबाट खसेजस्ता भए जब अविश्वासको प्रस्ताव दर्ता भयो। संसदले बनाएको सरकार संसदले फाल्न नसक्ने पनि हुन्छ र? अनि सुरु भयो बाधा अड्काउ फुकाउने र पास गर्ने खेलो।
अव सुरु हुनेछ राष्ट्रिय मुद्दाको वर्षा। विप्लव, वैद्य र बाबुरामले आआफ्ना मुद्दाहरु उठाउने छन् भने हिन्दू राष्ट्र र गणतन्त्रसमेत प्रश्नचिन्हमा पर्नेछ। अस्थिरताको साम्राज्य फिजियो भन्दा हुन्छ। जनयुद्धका नाइके प्रधानमन्त्री भएका बेलामा गम्भीर अपराधमा दण्ड हुने कि नहुने भन्ने अन्तर्राष्ट्रिय प्रश्न पनि यही बेलामा उठ्नेछ। प्रधानमन्त्री बन्न त पाउने भए तर उनको छातीमा चारमनको ढुंगाले थिचेजस्तो भएको हुनुपर्छ। तैपनि प्रचण्ड हाँस्न बाध्य छन्।