
काठमाडाैँस्थित पशुपतिनाथकाे मन्दिरमा हरेक वर्ष झैँ यसवर्ष पनि आज मार्गशीर्षकृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने मेला लाग्दैछ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भिड लागेकाे हाे ।
आज त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बालेर भाेलि मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्दछन । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने परम्परा रहेकाे छ ।
आज पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लग्ने गर्दछ भने बालाचतुर्दशीको अघिल्लो रात दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन रातभर जाग्राम बस्छन् । आज रातभर दीपदान गरी बसेका भक्तजनले भाेलि बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।
त्यसैगरि आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्यामा राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्दछन् ।
यता हिजाेदेखि तीन दिनसम्म पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न प्रतिबन्ध लगाइएको छ । स्थानीय प्रशासनले सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले चार किल्ला कायम गरेर मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रूपमा रोक लगाइएको बताइएकाे छ ।


