
नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित एक समारोहमा गृह सचिव रामेश्वर दंगालले आईजीपी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
प्रहरी नियमावलीमा तोकिएको ३० वर्षे सेवा अवधिका कारण निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते मध्यरातबाट अनिवार्य अवकाशमा गएपछि नेपाल प्रहरीमा कार्की आएका हुन् । कात्तिक २५ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
आईजीपी कार्कीसँग चुनौतीपूर्ण जिम्मेवारी सम्हालेको लामो अनुभव रहेको छ । गत भदौ २४ गते ‘जेनजी आन्दोलन’ हुँदा उनले उपत्यकाको कमाण्ड सफलतापूर्वक सम्हालेका थिए भने त्यसअघि कार्की प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागका प्रमुख थिए ।
डीआईजीको जिम्मेवारीमा रहँदा लुम्बिनी प्रदेशको कमाण्ड सम्हालेका कार्कीले एसएसपी हुँदा काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्व गरेका थिए । कार्कीले इमान्दार र निष्ठावान प्रहरी अधिकृतको छवि बनाएका छन् भने हालसम्म कुनै ठूलो आर्थिक विवादमा नमुछिएका प्रहरी अधिकृतका रूपमा परिचित छन् ।


