
पर्वतमा कारगारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । पर्वतकाे मोदी गाउँपालिका–६, दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीताकाे हत्या गरेका हुन् ।
जीतबहादुरले गएराति कुटपिट गरि बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार सीताको टाउको र अनुहारमा चोट लागेको थियाे ।
कुटपिटको घटना लगतै सीताकी बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेपछि देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले अभियुक्त जीतबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिएका छन् । अभियुक्त जीतबहादुरलाई स्थानीयले नियन्त्रणमा लिई थुनेर राखेकाे कारण प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।
यसअघि अभियुक्त जीतबहादुर वैवाहिक जबर्जस्ती करणी अभियोगमा कैद भुक्तान गरी हिँजाे मात्रै धरौटीमा छुटेका थिए । श्रीमतीले नै धरौटी तिरेर उनलाई छुटाएकी थिइन् भने घर पुगेकै दिन साँझ खाना खाइसकेपछि श्रीमतीमाथि जाइलागेको प्रहरीले जानकारी दिएको छ ।
उनका तीनभाइ छोरा रोजगारीका शिलशिलामा विदेशमा रहेका छन भने घरमा बुहारीसहित चार जना बस्दै आएकाे बताइएकाे छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


