
आज १४१ औं फाल्गुनन्दको जन्मजयन्ती मनाइँदैछ । किरात धर्मावलम्बीका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दकाे १४१ औं जन्मजयन्तीको अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएकाे छ ।
प्रदेश सरकारले फाल्गुनन्दको अतुलनीय योगदानको सम्मान गर्दै प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको हो । विक्रम संवत् १९४२ कात्तिक २५ गते आइतबार पाँचथरको इम्वुङ्गमा जन्मिएका फाल्गुनन्द एक युगद्रष्टा समाज सुधारकका रूपमा परिचित थिए ।
उनले किराँत धर्मको पुनरुत्थान र समाजमा व्याप्त अन्धविश्वास, विकृति तथा विसंगतिविरुद्ध आवाज उठाउँदै महत्वपूर्ण नीति निर्माण गरेका थिए । उनका उपदेशहरू सत्य, अहिंसा, नारी सम्मान र सामाजिक सद्भावमा आधारित छन्, जसले आज पनि उत्तिकै सान्दर्भिकता राख्दछ ।
विसं २००५ सालमा निधन भएकाे फाल्गुनन्दलाई नेपाल सरकारले विसं २०६६ मंसिर १६ गते फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेकाे थियाे । उनकाे विचार र मार्गदर्शनहरूले अहिले पनि किराँत समुदायसहित सिंगो नेपाली समाजलाई प्रेरणा दिइरहेका छन् ।
फाल्गुनन्दको जन्मजयन्तीकाे अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभकामना सन्देश जारी गर्दै फाल्गुनन्दलाई समाज सुधारक, सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तकका रूपमा स्मरण गरेका छन् । मुख्यमन्त्री कार्कीले उनको योगदानले सबै जात, भाषा, धर्म र संस्कृतिको संरक्षण र संवर्द्धनमा जोड दिएको समेत बताएका छन् ।


