
अहिले देशभरकाे माैसम साधरणतया बदली हुनुका साथै गण्डकी र बागमती प्रदेशको केही भूभागमा छिटपुट वर्षा भइरहेको छ । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले देशभरकाे माैसम बदली भएकाे हाे ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली हुनेछ भने तराई भूभागमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । त्यस्तै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षासहित हिमपात हुनुका साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षासहित हिमपातको पनि सम्भावना रहेकाे महाशाखाकाे भनाइ रहेकाे छ ।
त्यसैगरि आज राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत अन्य पहाडी भूभागमा साधरणतया बदली तथा तराई भूभागमा आंशिक बदली रहने बताइएकाे छ । त्यस्तै गण्डकी प्रदेशका केही स्थान, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै तथा बाँकी पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
त्यस्तै रातिकाे समयमा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षासहित हिमपातको सम्भावना रहेकाे छ । यता गोरखाको सामागाउँमा बिहानैदेखि हिउँ पर्न सुरू भएकाे छ । ३५ सय मिटर उचाइमा रहेको सामागाउँमा बिहानैदेखि हिमपात हुँदा लार्के पास गर्न हिँडेका सयौँ पदयात्री समस्यामा परेका छन् ।


