
अब नेपाली नोटमा नेपाल संवत उल्लेख गरिने भएकाे छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बाेल्दै नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने व्यवस्था मिलाउने बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने विषयमा नेपाल राष्ट्र बैकसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएकि हुन् । नेपाल संवत विशेष गरी कान्तिपुर र भादगाउँमा उत्पत्ति भएपनि राष्ट्रकै मौलिक संवत भएको प्रधानमन्त्री कार्कीकाे भनाइ रहेकाे थियाे ।
त्यसैगरि प्रधानमन्त्री कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः एक कुशल व्यापारी भएपनि उनी नाफा कमाउने व्यापारी नभएको समेत उल्लेख गरेकि छन् । साख्वाः एक महान् समाजसेवी र लोक कल्याणकारी व्यक्तित्व भएको उनको भनाई रहेकाे थियाे ।
प्रधानमन्त्री कार्कीले ११४६ वर्ष अगाडी राजा रागवदेवको शासनकालमा शंखधर साख्वाःले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋण विमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिएकाे बताउँदै साेहि दिन देखि नै नेपाल संवतको शुभारम्भ भएकाे बतइन् ।
त्यस्तै प्रधानमन्त्री कार्कीले नेपाल संवतलाई सरकारी कागजातमा समेत उल्लेख गरेर सरकारले यसलाई प्रवर्द्धन र व्यवहारिक रूपमा लागू गर्न तत्परता देखाएको बताइन् । नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः लाई वि.सं २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो । नेपाल संवतलाई भने २०६५ कात्तिक ७ गते राष्ट्रिय संवत घोषणा गरिएको थियो ।


