
ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले अपराजित रहेर उपाधि जितेको छ । अन्तिम खेलमा सामोआलाई हराउँदै नेपालले उपाधि जितेको हाे ।
आज दिउँसाे भएकाे अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको छ ।
नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन बनाएकाे थियाे । सामोआका लागि सिन सोलियाले सर्वाधिक ४० रन बनाएका थिए ।
नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १-१ विकेट लिएका थिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो ।
आसिफले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाएका थिए भने दीपेन्द्रले २ चौका र ४ छक्कासहित ५३ रन बनाएका थिए । त्यस्तै लोकेश बमले ११ बलमा ३९ रन बनाएर फिनिसिङ गरे भने रोहित पौडेल २१ रनमा अविजित रहँदा कुशल भुर्तेलले १७ रन बनाएका थिए ।
नेपाल ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगितामा उपाधि जित्न सफल भएकाे हाे । यसअघि सन् २०२३ मा विश्वकप छनोटमा नेपाल फाइनलमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो ।


