
ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोट अन्तरगतकाे अन्तिम खेल आज नेपालले सामोआसँग खेल्दैछ । दुई खेलअघि नै आइसिसी टी–२० विश्वकपमा छानिएको नेपालले च्याम्पियन बन्न आज सामोआसँग खेल्न लागेकाे हाे ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । आजकाे खेलमा सामोआलाई हराएमा नेपाल एसिया तथा इस्ट एसिया– प्यासिफिक छनोटको च्याम्पियन बन्ने छ ।
सामोआसँग नेपालले पहिलो पटक खेल्न लागेको हो । एसिया तथा इस्ट एसिया– प्यासिफिक छनोट प्रतियोगितामा अपराजित रहेकाे नेपाल सुपर सिक्समा आठ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने घरेलु टिम ओमान छ अंकसहित दोस्रो स्थानमा रहेकाे छ ।
छनाेटकाे अन्तिम दिन आज ओमानले पनि जापानसँग प्रतिस्पर्धा गर्दैछ । टी–२० विश्वकपको १० औँ संस्करण सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।


