
सुपर सिक्सअन्तर्गतको दोस्रो खेलमा नेपालले कतारलाई पाँच रनले हराउँदै विजयी बनेकाे छ । ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सकाे दाश्राे खेलमा नेपालले कतारलाई हराएकाे हाे ।
गएराति भएको खेलमा नेपालले कतारलाई पाँच रनले हराउँदै सुपर सिक्समा लगातार दोस्रो जित निकालेकाे हो । यसअघि भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई एक रनले हराउँदै रोमाञ्चक जित निकालेकाे थियो ।
नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ दशमलव पाँच ओभरमा १४२ रन बनाएर अलआउट भएकाे थियाे । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा सर्वाधिक ५५ रन बनाउँदा जुबेर अलीले ५२ रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछानले पाँच विकेट लिएका थिए भने नन्दन यादवले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४७ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रनको योगदान दिएका थिए भने दीपेन्द्रसिंह ऐरीले २६ र गुल्शन झाले १६ रन जोडेका थिए । उक्त खेलमा कतारका लागि कप्तान मिर्जा बेग र डानियल लुइसले समान तीन/तीन विकेट लिए भने मुहम्मद असिमले १ विकेट लिएका थिए ।
नेपालले समूह ‘बी’ को विजेता बन्दै कुवेत र जापानलाई हराएर सुपर सिक्सको यात्रा तय गरेको हो । अर्काे खेल नेपालले बुधबार ओमानसँग खेल्ने छ भने शुक्रबार सामोआ सँग खेल्ने तालिका रहेको छ ।


