Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

पत्रकार पर्वतराज घिमिरेमाथि ज्यान मार्ने धम्कीप्रति पत्रकार महासंघको घोर भर्त्सना

२३ बिहिबार , आश्विन २०८२एक दिन अगाडि

पत्रकार पर्वतराज घिमिरेमाथि ज्यान मार्ने धम्कीप्रति पत्रकार महासंघको घोर भर्त्सना

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आफ्ना सदस्य पत्रकार पर्वतराज घिमिरेमाथि आएको ज्यान मार्ने धम्कीप्रति घोर भर्त्सना व्यक्त गरेको छ ।

मेयर बालेन्द्र शाहसम्बन्धी समाचार प्रसारण भएपछि मेयर शाहका भिनाजु बताइने सुवास शाहले पत्रकार घिमिरेलाई फोनमार्फत अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका हुन् । घटनाको सार्वजनिक भएसँगै शाखाले यसलाई प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमणको रूपमा लिएको छ ।

शाखाका सचिव रमेश कुमार बोहोराले बुधबार प्रकाशित विज्ञप्तिमा भनेका छन्  “यो कुनै व्यक्तिगत रिसइवी होइन, स्वतन्त्र पत्रकारिता र अभिव्यक्तिको अधिकारमाथिको नियोजित हमला हो जसले लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको आधारभूत मर्मलाई चुनौती दिएको छ ।”

विज्ञप्तिमा भनिएको छ कि समाचारप्रति असन्तुष्टि भएमा प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी व्यवस्था हुँदाहुँदै धम्कीपूर्ण र आपराधिक व्यवहार गर्नु प्रेस आचारसंहिता र प्रचलित कानुनको ठाडो उल्लङ्घन हो ।

शाखाले सुरक्षा निकायलाई घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न र पत्रकारमाथि हुने धम्की तथा आक्रमणप्रति शून्य सहनशीलता अपनाउन सरकारसँग जोडदार माग गरेको छ ।

शाखाका सचिव रमेश कुमार बोहोराले थप भने “स्वतन्त्र प्रेस र निर्भीक पत्रकारिता लोकतन्त्रका मेरुदण्ड हुन् । पत्रकारको सुरक्षा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व हो ।”