Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

कारागारबाट भागेका कैदीबन्दी देखिए प्रहरीलाई खबर गर्न आग्रह

१२ आइतबार , आश्विन २०८२एक बर्ष अगाडि

कारागारबाट भागेका कैदीबन्दी देखिए प्रहरीलाई खबर गर्न आग्रह

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा देशभरिका विभिन्न कारागारबाट भागेका कैदीबन्दी मध्ये थुप्रै कैदीबन्दी अझै फरार रहेकाले उनिहरूलाई कसैले देखेमा  प्रहरीलाई खबर गर्न आग्रह गरिएकाे छ । उक्त ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीमध्ये ६ हजार जना अझै फरार रहेका छन् ।

नेपाल प्रहरीले दशैं, तिहार, छठलगायतका चाडपर्वको समयमा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्दै फरार कैदीहरूमा चोरी, डाकाजस्ता आपराधिक पृष्ठभूमि भएका र आफूमाथि लागेको मुद्दाका विषयमा गाउँमा गएर बदलाको भावना लिनसक्ने व्यक्तिहरू समेत रहेकाले उनिहरूलाई कसैले देखेमा  प्रहरीलाई खबर गर्न आग्रह गरिएकाे हाे ।

आन्दोलनका क्रममा भागेकामध्ये करिब ८ हजार कैदी फर्किएका छन् भने बाँकी ६ हजारको खोजी कार्य जारी रहेकाे केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् । घिमिरेले भनेका छन, ‘भागेका कैदीहरूमा कोही चोर डाकाहरू पनि छन् । कोही आफूलाई लागेको मुद्दाका विषयमा गाउँमा गएर बदलाको भावना लिनसक्ने भएकाले त्यस्ता व्यक्ति गाउँमा देखिए सम्पर्क गर्न हामीले फोन नम्बर पनि दिएका छौं।  सुरक्षाका सन्दर्भमा नागरिकले पनि सतर्कता अपनाउन हाम्रो अनुरोध छ ।’

प्रहरीले बदलाको भावना लिनसक्नेहरूको विवरणसहित सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिसकेको र उनीहरूले सम्भावित घटना घटाउन सक्ने भएकाले प्रहरी निकै सचेत अवस्थामा रहेको प्रवक्ता घिमिरेकाे भनाइ रहेकाे छ । साथै, आपराधिक मानसिकता भएका कैदीहरूबाट गाउँमा बदलाको भावना लिनसक्ने खतरा भएकाले प्रहरीले उच्च निगरानी गरिरहेको बताइएकाे छ ।

कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीहरूलाई असोज २० गतेभित्र कारागार फर्कन आग्रह गरेकाे छ भने प्रहरीले कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल जानकारी गराउन नागरिकहरूलाई आग्रह गरेको छ ।