Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउन दुई दिन लाग्ने

०८ बुधबार , आश्विन २०८२एक बर्ष अगाडि

नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउन दुई दिन लाग्ने

केहि दिनदेखि निरन्तर पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने भएको छ । उक्त सडक खण्डमा हिँजो दिउँसो साढे ४ बजेतिर खसेको सुख्खा पहिरो आज बिहानबाट पन्छाउन थालिएको भएपनि पहिरो निरन्तर खसी रहेकाले पन्छाउन दुई दिन लाग्ने भएको हो ।

अहिले पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेले बताएका छन् । उक्त पहिरो पन्छाउन दमौलीबाट अर्काे एउटा स्काभेटर मगाइएको पनि उनले बताए ।

उक्त पहिरो खसेको स्थानमा सडकको १६० मिटर भाग पहिरोले ढाकेको र पहिरोको तस्बिर हेर्दामाथिबाट अरु थप ठूलो पहिरो झर्ने सम्भावना कम भए माथिबाट झर्न बाँकी केही ढुङ्गाहरु पूर्ण रुपमा झरिनसकेकाले अझै साना तथा मझौला पहिरो खस्न सक्ने सम्भावना रहेको समेत लामिछानेले बताए ।

यसअघि गत शुक्रबारदेखि उक्त स्थानमा निरन्तर पहिरो खसिरहेको भएपनि समय समयमा पहिरो पन्छाएर केही सवारी आवतजावत गराइएको भएपनि हिँजोदेखि सडक ठप्प भएको छ । सडक ठप्प हुँदा ठूलो सङ्ख्यामा सवारीसाधन लाम लागेका छन् भने यात्रुवाहक सवारीसाधन फर्काएर वैकल्पिक मार्गतर्फ लागेका छन् ।

डिभिजन सडक कार्यालय चितवनले पहिरोका कारण सवारी रोकिएपछि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको भएपनि मालवाहक सवारीसाधन लाममा बसेका छन् ।