
काठमाडौँमा संविधान दिवसकाे अवसर पारेर शान्ति र्यालीको आयोजना गरिएको छ । उक्त र्याली माइतीघरबाट सुरु भएर भद्रकाली, सहिदद्वार, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघर पुगेर सभामा परिणत भएको थियो ।
शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) द्वारा आयोजित उक्त कार्यक्रममा संविधानविद्, पत्रकार, वकिल, मानवअधिकारकर्मी, शिक्षक, बुद्धिजीविलगायत विभिन्न पेसा र व्यवसायसँग आबद्ध नागरिकको सहभागिता रहेकाे थियो । र्यालीमा ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्ने प्लेकार्ड प्रदर्शन गरेकाे थियाे ।
विस २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष याे दिवस मनाउने गरिएकाे छ । यता राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा संविधान दिवस मूल समारोहद्वारा अहिले सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस कार्यक्रम भइरहेको छ ।
यता प्रमुख दलहरूले आफ्ना–आफ्नै कार्यालयमा संविधान दिवसको अवसरमा कार्यक्रम आयोजना गरेका छन् । नेकपा एमालेको च्यासल र माओवादीको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यक्रममा आयोजना गरि नेताहरुले खबरदारी गरेका छन् ।