
आज राष्ट्रिय उत्साहका साथ संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मनाइँदैछ । आजैकाे दिन २०७२ सालमा नेपालको संविधान घोषणा भएको ऐतिहासिक दिनकाे सम्झनामा यस ऐतिहासिक दिनलाई विविध कार्यक्रमका साथ मनाइँदैछ ।
यस वर्षको मूल समारोह राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा भव्यताका साथ आयोजना गरिएकाे छ । उक्त समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाली जनताकाे लामो संघर्ष, त्याग र बलिदानी मार्फत संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान घोषणा भएको थियो । उक्त संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सामाजिक न्याय, समावेशिता र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेको छ ।
संविधान दिवस नेपाली जनताको सार्वभौमसत्ता, लोकतन्त्र र विधिको शासनप्रतिको अटुट निष्ठाको प्रतीककाे रुपमा मनाउने गरिएकाे छ । यस दिवसले संविधानको भावना अनुरूप राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्ध नेपाल निर्माणको लागि निरन्तर प्रयत्नशील रहन प्रेरित गरेकाे छ ।