
नेपालीहरूकाे महान चाड बडादशैँकाे अवसरमा सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको बैठकले घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णय गरेकाे हाे ।
विभागले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालन गर्न रुट परमिट खुला गर्ने निर्णय गरेको हो । यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई पनि निरन्तरता दिने विभागले निर्णय गरेको छ ।
बैठकले यातायात व्यवसायीले अनलाइन टिकट बुकिङ गर्ने व्यवस्था मिलाउने, उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुवाहक सवारीसाधनको प्रभावकारी अनुगमन गर्ने निर्णय गरिएको छ । सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य टिकट लिएर मात्र यात्रा गर्ने र टिकट काउन्टरबाट यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने पनि बैठकले निर्णय गरेकाे बताइएकाे छ ।
त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अनधिकृत काउन्टर, परिचयपत्र, पोसाक नभएका व्यक्तिबाट टिकट नपाउने निर्णय गर्दै यदि त्यसाे गरेमा नियन्त्रण गर्ने बताइकाे छ । साथै,सार्वजनिक यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्नेबाहेकका ट्रेलरलगायत ठूला सवारीसाधन घटस्थापनादेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरिएकाे छ ।
त्यसैगरि मादकपदार्थ र लागुपदार्थ सेवन गर्ने सवारी चालकको स्वास्थ्य अवस्थाबारे जाँच गर्ने, लामो दूरीका यात्रुवाहक सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्नुअघि अनिवार्य रूपमा यान्त्रिक अवस्थालगायतको परीक्षण गर्ने र यात्रुवाहक सवारी यातायातको चाप अत्याधिक बढ्न गई सडक दुर्घटनासमेत बढ्नसक्ने जोखिमलाई मध्यनजर गरी प्रभावकारी अनुगमन एवं निगरानीको व्यवस्था मिलाइने जनाइएकाे छ ।
चाडपर्व अवधिभर अनुगमन कार्यका लागि यातायात व्यवस्था विभागले सरोकार भएका निकाय सम्मिलित अनुगमन टोली गठन गर्ने निर्णय गरेको छ ।