Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाको कडा निन्दा गरेको छ।

३१ मंगलबार , भाद्र २०८२एक बर्ष अगाडि

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाको 
कडा निन्दा गरेको छ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिका (Federation of International Journalist, America–FIJA) ले नेपालमा हालै भएको जेन-जी आन्दोलन र त्यस पछि पनि पत्रकार र सञ्चार माध्यममाथि भइरहेका धम्की र आक्रमणको कडा निन्दा गरेको छ।

१५ सेप्टेम्बर २०२५, आइतबार अध्यक्ष राम प्रसाद खनालद्वारा वाशिंगटन डिसीमा जारी गरिएको विज्ञप्तिमा महासङ्घले आन्दोलनमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना र घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै राष्ट्रिय सम्पत्तिदेखि व्यावसायिक र व्यक्तिगत स्तरमा भएको क्षति, तोडफोड र आगजनीको पनि निन्दा गरेको छ।

FIJA-America का अध्यक्ष खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “देशको चौथो अङ्ग हो पत्रकारिता । पत्रकार र सञ्चार माध्यममा सूचना र विचार अभिव्यक्तिको हक संविधानले प्रदत्त अधिकार हो, जुन केवल नेपालको मात्र होइन, विश्वव्यापी मान्यता हो। समाचार लेखेकै भरमा वा विचार राखेकै कारण कसैलाई धम्की दिनु वा आक्रमण गर्नु निन्दनीय छ।”

विशेष गरी हालै नेकपा (एमाले) का नेता महेश बस्नेतले FIJA-America का महासचिव टङ्क दाहाललाई सामाजिक सञ्जालमै खुला ज्यान मार्ने धम्की दिएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घले जनाएको छ। यस्तै, टेलिभिजन पत्रकार राजीव खत्रीसहित अन्य पत्रकारहरूलाई पनि ठूला दलका नेताकार्यकर्ताबाट धम्की आइरहेको खबरले महासङ्घलाई दुःखित बनाएको विज्ञप्तिमा उल्लेख छ।

FIJA-America ले नेपाल सरकार र सम्बन्धित निकायलाई यस्ता धम्की र आक्रमण तुरुन्तै रोक्न, दोषीमाथि कडा कारबाही गर्न र कानुनी दायरामा ल्याउन आग्रह गरेको छ। साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्रकार तथा नागरिक समाजलाई पनि आवाज उठाइ ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ।

विज्ञप्तिमा थपिएको छ, “अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिका पत्रकार, पत्रकारिता र सञ्चार माध्यममाथि हुने कुनै पनि ज्यादतीविरुद्ध सधैं डटेर प्रतिरोध गरिरहनेछ।”