
प्रशासनले लगाएकाे कर्फ्यूकाे अवेज्ञा गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले ठाउँ-ठाउँमा ताेडफाेड सहित आगजनीमा उत्रिएका छन् । बिहानैदेखि प्रदर्शनमा उत्रिएका उनिहरले ताेडफाेड र आगजनी गर्न थालेका हुन् ।
सुरक्षा स्रोतका अनुसार केहीबेरअघि सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगजनी गरेका छन् । प्रदर्शनकै क्रममा आक्रोशित भिडले सुरुमा ढुंगामुढा गर्न थालेको र त्यसपछि आगजनीमा उत्रिएको हाे । गृहमन्त्री रमेश लेखकको काठमाडौंको नैकापस्थित घरमा तोडफोड र आगजनी गरिएकाे छ भने धनगढीस्थित परराष्ट्रमन्त्री डा.आरजू राणा देउवाको निवास पनि जलाइएको छ ।
त्यसैगरि प्रदर्शनकारीहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा तोडफोड गर्नुका साथै नजिकैको प्रहरी बिटमा आगजनी गरेका छन् । उनिहरूको एक समूहले प्रचण्डको खुमलटारस्थित निवासको गेटअगाडि ढुंगामुढा प्रहार गरेका थिए । प्रदर्शनकारीहरूले हरिसिद्धीस्थित प्रहरी प्रभागमा पनि आगजनी गरेका छन् भने ललितपुरका विभिन्न भागमा प्रदर्शन र आगजनीका घटनाहरू भइरहेका छन् ।
प्रदर्शनका क्रममा १९ जनाकाे मृत्यु भएपछि सरकारकाे चाैतर्फि विराेध सुरू भएसँगै हिँजाे गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए भने आज कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका छन् । उनले आत्मसमीक्षासहित जेनजी आन्दोलनलाई सम्बोधन गरिएकाे पत्र सार्वजनिक गर्दै राजीनामा दिएका हुन् ।
यता स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने तयारी गरेकाे बताइएकाे छ ।