
युवा पुस्ता (जेनजी)काे नेतृत्वमा सुरु भएको सशक्त प्रदर्शनले माइतीघर नयाँबानेश्वर सडक ढाकिएकाे छ । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र व्यापक भ्रष्टाचारविरुद्ध सुरू गरिएकाे प्रदर्शनमा स्वतस्फुर्त रुपमा युवा पुस्ता सडकमा उत्रिएका हुन् ।
प्रदर्शनका कारण अहिले त्यस क्षेत्रको सवारी आवागमन प्रभावित बनेको छ । ‘भ्रष्टाचार मुर्दावाद’, ‘सामाजिक सञ्जालको प्रतिबन्ध खारेज गर’, ‘सुशासन कायम गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरू सडकमा उत्रिएर सरकारविरुद्ध चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।
जेन-जी को प्रदर्शनलाई विभिन्न राजनीतिक दल, नागरिक समाजका अगुवा, कलाकार तथा स्वतन्त्र व्यक्तिहरूले समर्थन जनाएका छन् । जनताको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारी नीतिको चर्को विरोध भइरहेका बेला जेन-जी को प्रदर्शनले सरकारलाई थप दबाब दिएकाे छ ।