
अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र मनुसनी गतिविधि कमजाेर हुँदै गएकाे भएपनि देशभर साधारणतया बदली भइरहेकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि देशका पहाडी भेगका केही स्थानमा वर्षा भइरहेकाे छ ।
आज दिउँसो देशभर साधारणतया बदली हुनुका साथै कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगका केही स्थानमा र तराईका केही भागमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । त्यसैगरि कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेग तथा लुम्बिनी प्रदेशका तराई एवं पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेकाे छ ।
त्यस्तै आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनुका साथै पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएकाे छ ।
वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न समेत महाशाखाले अनुराेध गरेको छ ।