
वर्षायामसँगै लामखुट्टेकाे बढ्दाे सक्रियताका कारण डेङ्गीको जोखिम बढ्दै गएको छ । प्रायजसाे गर्मी ठाउँमा देखिने लामखुट्टे पछिल्लाे समय पहाडका जिल्लाहरूमा पनि देखिन थालेसँगै पहाडी जिल्लाहरूमा समेत डेङ्गीको जोखिम बढ्दै गएको छ ।
अहिले पहाडी जिल्ला बैतडीलगायतका जिल्लाहरूमा डेङ्गीको जोखिम बढ्दै गएको हाे । बैतडी जिल्ला स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार जिल्लाम हालसम्म सात जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको बताइएकाे छ ।
जिल्लाकाे दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । त्यस्तै वर्षायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले जिल्ला सदरमुकाम र पाटन बजारमा अभियान सञ्चालन गरेको छ ।
अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, नागरिक समाज तथा स्थानीय सहभागी भएका थिए भने अभियान बुधबारदेखि सञ्चालन गरिएको हो । स्थानीय तहहरुले पनि डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै दोगडाकेदार गाउँपालिकाले हरेक शुक्रबार सरसफाइ अभियान सञ्चालन गरेको छ ।
त्यसैगरि तीन महिनासम्म सञ्चालन हुने अभियानमा सहभागी हुन पालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्यचौकीलगायत सरकारी कार्यालयहरुलाई अनुरोध गरिएको छ ।